काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताएका छन्। उनले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताए।
शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताए। गत पुस ५ गतेदेखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको उनको भनाइ थियो। निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुन्द्र मन्थन भई संसदले पुनः गति लिएको उनले बताए। तर अझै पनि बहस नसकिएको सभामुख सापकोटाकोले बताए। संसदमा जनअपेक्षा अनुसार काम नभएको सभामुख सापकोटाले स्वीकार गरे।
सभामुख सापकोटाले भने, ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईहरुले उठाउनुभएको छ। त्यसलाई म उच्च सम्मान गर्छु।’
संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले बताए। अहिले केही अन्योलता देखिए पनि निराश हुन पर्ने स्थिति नरहेको उनको भनाइ छ। ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठिरहेको बताउदै यसको रक्षाका लागि अझै एक सय वर्ष लड्न तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताए।



लोकपाटी न्यूज

