काठमाडौं, १३ चैत्र। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
देउवाले नेता जोशीको निधनले कांग्रेसले एक इमानदार र निष्ठावान नेता गुमाएको उल्लेख गरेका छन्। ट्विटरमार्फत उनले लेखेका छन्,–“हार्दिक श्रदाञ्जली नविन्द्रजी, नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु। जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।”
फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको थियो।
त्यसैगरि कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको प्रस्थान नेपाली कांग्रेसका लागि मात्र नभई देशकै लागि अपूरणीय क्षति भएको बताएका छन्। सामाजिक सञ्जाल फेशबुकमार्फत नेता निधिले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जाली व्यक्त गरेका छन्।
त्यस्तै कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले नेता नविन्द्रराज जोशीको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले यस्तो बताएका हुन्। उनले आफूहरुले विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएको पनि उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘‘अत्यन्त मर्माहत भएको छु। नविन्द्र दाई, हामीमाझ हुनुहुन्न भनेर पत्याउन सकिरहेको छैन। पार्टी संगठनका, विचार अनि विकासका थुप्रै कुरा सिक्न र संगै काम गर्न बाँकी थियो। हामीले एक समन्वयकारी, सालिन नेता र विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएका छौं। हार्दिक श्रद्धाञ्जली नविन्द्र दाइ !”



लोकपाटी न्यूज

