काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल समूहसँग खनिएका छन्। थापाले शनिबार फेसबुकमा लामो स्ट्याटस लेखेका छन्।
तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर खनाल–नेपालले पुस ५ गतेदेखि फागुन २३ गतेसम्म ओली समूहविरुद्ध गरेका कारवाहीबारे थापाले उल्लेख गरेका छन्। जसमा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउनेदेखि थापालाई निलम्बन गरेकोसम्म लेखेका छन्। उनका अनुसार ओलीलाई चारपटक पार्टीबाट निष्काशन गरेको बताएका छन्।
माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुको कुनै अर्को विकल्प छैन’ थापाले लेखेका छन् ’अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्तो हुन्छ ! नत्र प्रचण्डसँगको अघोषित कार्यगत एकता, हरेक दिनजस्तो भेटघाट र साँठगाँठ किन चलिरहेको छ ?’
थापाले लेखेका छन्,
पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् श्वरमा श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दुःखी आत्माहरूलाई पो आज पार्टी एकता चाहिएको रहेछ ! प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा केचाहिँ गर्न बाँकी राखे ?
कोही प्रदर्शनी मार्गमा चिच्याए – सन्की (?) केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नौँ !! कोही कार्की बैक्वेटमा उफ्रिए– केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायौँ ! माझण्ड गुटको मलामी बनेका जिउँदा लाशहरू कतिले पेरिसडाँडाबाट कथित निर्णय गरेको ऐलान नै गरे – ७ जनालाई पार्टीबाट नै हटायौँ !!!
विचराहरू – तिनले के के गरेका थिए ?
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै होइन, चार पटक निष्काशन गरे। महासचिव विष्णुप्रसाद पौडेलडेललाई दुई पटक निष्काशनको घोषणा गरे। मुख्यमन्त्री शंकर पोखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट एकपटक निस्कासन गरे ।
मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एकपटक निष्काशन गरे। सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेताबाट एकपटक निष्काशन गरे। विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकबाट एकपटक निष्काशन गरे। शान्ता चौधरीलाई संसदीय दलको सचेतकबाट एकपटक निष्काशन गरे।
प्रभु साहलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे। कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे। गोकुल बाँस्कोटालाई केन्द्रीय कमिटी सदस्यबाट निलम्बनको प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ बुबाको किरियामा रहनुभएकाले विरोध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए।
सूर्य थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे र महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे। उल्लिखित कथित कारबाही पार्टी कब्जा गर्न गरिएको थियो भन्ने स्पष्ट नै छ।
यहाँनेर सबैलाई ज्ञात होस् र स्मरण पनि –
(पार्टी अध्यक्षबाट केपी शर्मा ओली र अरू एक दर्जन नेताहरूलाई यसरी पटकपटक निष्काशन र निलम्बनको घोषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजोबध गर्ने कार्य श्री माधवजीको पूर्वाग्रह, पक्षपात, व्यक्तिगत रिसइबीको कारण र कुण्ठाग्रस्त मानसिकताको परिणाम हो। माओवादी पृष्ठभूमिका प्रभु साहलाई निलम्बनको घोषणा गर्न पनि प्रचण्डको जोड नभएर श्री नेपालजीको द्वेष नै कारक थियो र छ।)
समयले अब यस्ता कथित निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएको छ – तैपनि तिनमा कुनै पश्चातापबोध छैन, अझ उल्टै पार्टी एकताको रोइलो तिनकै पो छ। खासमा पार्टी एकता भत्काउने र भाँड्ने को थियो ? ऐनामा अनुहार हेर्नू पर्दैन ? अनि, निशर्त नेकपा (एमाले), सूर्य चिन्ह।
र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यस यता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीको मियोमा आबद्ध भएर अघि बढ्न तयार भई आए पो स्वागत छ, अन्यथा किन –याई–याईं गर्ने ? कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुको कुनै अर्को विकल्प छैन ! अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्तो हुन्छ !! नत्र प्रचण्डसँगको अघोषित कार्यगत एकता, हरेक दिनजस्तो भेटघाट र साँठगाँठ किन चलिरहेको छ ? अब गंगा गए गंगादास, जमुना गए जमुनादास नहोऔँ कि ?
कमसेककम–
१.२०७७ बैशाख यताका गुटगत, फुटगत, प्रचण्डपन्थी, दुष्ट, जनादेशविपरित, जनविरोधी र राष्ट्रिय हितविपरीतका कार्य÷दुष्कार्य गलत गरेका थियौँ। त्यसैले, सार्वजनिक क्षमायाचना गर्छौँ, पार्टीले हाम्रो सार्वजनिक आलोचना गरेर सुध्रिने मौका प्रदान गरोस् भन्ने राजनीतिक र नैतिक साहस प्रदर्शन गर्नुपर्दैन ?
२. अझै अध्यक्ष केपी शर्मा ओलीलाई अर्घेलो देखाउन खोज्ने, केन्द्रीय कमिटीका १०औँ, ११ औँ र १२ औँ बैठकका निर्णयप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, प्रधानमन्त्रीले राजीनामा दिइदिए हाइसञ्चो हुन्थ्योजस्तो गर्ने, निर्लज्जतापूर्वक समानान्तर गतिविधि गर्ने र गुटगत बार्गेनिङ गर्ने कार्यहरू अब किमार्थ मान्य र स्वीकार्य हुन सक्दैनन्। चेतना भया !!



लोकपाटी न्यूज

