नेपाली कम्युनिस्ट आन्दोलन गम्भीर अवस्थामा छ : जनार्दन शर्मा

Janardan-Sharma
लोकपाटी न्यूज

मकवानपुर। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीलाई केन्द्रसँगै गाउँ तहबाट शुद्धीकरण गरी बलियो कम्युनिस्ट पार्टी बनाउने बताएका छन्। माओवादी केन्द्र मकवानपुरका नेता कार्यकर्तासँग शुक्रवार हेटौँडामा रहेकाे पार्टी कार्यालयमा भेटघाट गर्दै नेता शर्माले राष्ट्र, राष्ट्रियता, स्वाधिनता र आत्मनिर्णयको अधिकारको पक्षमा सशक्त अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए।

‘नेपालमा कम्युनिस्ट आन्दोलन अहिले गम्भीर अवस्थामा पुगेको छ’, उनले भने, ‘राष्ट्र र स्वाधिनतामाथि हमला भएकाले राष्ट्रवादी कम्युनिस्टहरू गाउँ–गाउँबाट उठ्नुपर्ने बेला आएको छ ।’ पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र पहिचानसहितको नेपाल निर्माण अहिलेको प्रमुख माग रहेको भन्दै उहाँले त्यसका लागि माओवादी केन्द्रले नेतृत्वदायी र जुझारु रूपले भूमिका खेल्नुपर्ने बताए।

पुँजीवादमा निर्भर हुँदा नेपालमा गरिब झन् गरिब र धनी झन् धनी बन्दै गएको भन्दै नेता शर्माले सरकारले बजारको अनुगमन मात्र गर्दा नागरिक धेरै मारमा परेको बताए। ‘विश्वभर पूर्ण पुँजीवादी व्यवस्था असफल भइसकेको छ’, उनले भने, ‘राज्य नियन्त्रित पुँजीवाद अर्थात् समाजवाद आवश्यक भइसकेको छ।’

नेपालमा समाजवाद प्राप्त गर्न नेतृत्व गर्ने पार्टी आवश्यक भएको भन्दै त्यसका लागि माओवादी केन्द्रलाई उत्पादनसँग जोडिएको पार्टी बनाउनुपर्नेमा स्थायी कमिटी सदस्य प्रभाकरले जोड दिए। पार्टीका सबै कमिटी आन्तरिक जनवाद (लोकतन्त्र) मूलक बनाउनुपर्ने भन्दै सबै नेता कार्यकर्ता गम्भीर भइ गाउँ–गाउँमा सङ्गठन विस्तारमा तत्काल लाग्न उनले आग्रह गरे।

माओवादी केन्द्रलाई गरिब, विपन्न, उत्पीडित वर्गको पार्टी बनाउन देशभर २० लाख घर-परिवारलाई पार्टीमा सङ्गठित गर्नुपर्ने भन्दै उनले पार्टीले एकता अभियानलाई सँगसँगै लगेर देश र नागरिकका पक्षमा काम गर्ने दाबी गरे।