सुदूरपश्चिम सरकार परिवर्तन गर्छौं : लेखराज भट्ट

lekhraj_bhatta
लोकपाटी न्यूज

कैलाली। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम सरकार फेरबदल गर्नुपर्ने बताएका छन्। शुक्रवार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले सुदूरपश्चिम सरकार परिवर्तन हुने दाबी गरे। यस विषयमा पार्टीमा छलफल गरेर चाँडै निष्कर्ष निकाल्ने बताए।

भट्टले भने, ‘हामी नेतृत्वमा रहेका व्यक्तिहरू अहिले आएका छौँ, छलफल गर्छौँ। पार्टीले छलफलपछि एउटा निष्कर्ष निकाल्छ। आम जनताको निष्कर्ष के छ भने यो सरकारले गति लिन सकेन। अब यसलाई फाल्नुपर्छ भन्ने नै छ।’ सुदूरपश्चिममा अहिले लेखराज भट्ट माओवादीमा छँदा उनी निकट मानिएका त्रिलोचन भट्टको नेतृत्वमा सरकार छ।

मन्त्री भट्टले एमालेको नेतृत्वमा सरकार बन्न नसके मुलुक नयाँ निर्वाचनमा जाने समेत बताए। माओवादी केन्द्रले समर्थन फिर्ता लिए ठुलो दलको हैसियतले नेकपा एमालेले बहुमतको सरकारको प्रयास गर्ने र त्यसो हुन नसके मुलुक निर्वाचनमा जानुको विकल्प नरहेको स्पष्ट पारे।

उनले एमालेका नेपाल पक्षीय नेता भीम रावललगायतका विषयमा मागिएको स्पष्टीकरणको उत्तरपछि मात्र कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए। प्रधानमन्त्री ओलीले सुदूरपश्चिम इन्चार्ज रहेका भीम रावललाई हटाएर उनको स्थानमा लेखराज भट्टलाई जिम्मेवारी दिएका छन्।