काठमाडौं। प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा पार्टी नेता माधवकुमार नेपाल पक्षका सांसदहरु सहभागी हुने भएका छन्। बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहित अन्य सांसदहरु सहभागी हुन लागेका हुन्।
यद्यपि, वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने बैठकमा नजाने भएका छन्। नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालसहित नेपालपक्षका सांसदहरु बालुवाटार पुगिसकेका छन्। बैठकमा भाग लिने नेपाल पक्षका सांसदहरुमा योगेश भट्राई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायत रहेका छन्। बैठक अबको केही बेरमै सुरु हुने जनाइएको छ।
ओलीले गत हप्ता बोलाएको संसदीय दलको बैठकमा भने नेपाल पक्षका सांसदहरुले बहिस्कार गरेका थिए। बैठकमा भाग लिने निर्णय अघि नेपाल पक्ष निकट सांसदहरु तथा पार्टीका केन्द्रीय सदस्यहरुको आज छुट्टै बैठक बसेको थियो। सो पक्षको आज कलंकीमा बसेको बैठकले पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक बोलाउन माग गर्ने निर्णय पनि गरेको छ।
यस्तै, पार्टी एकताका पक्षमा दृढताका साथ उभिने निर्णय पनि बैठकले गरेको छ। पार्टीभित्रै रहेर संघर्ष गर्ने नीति अनुसार नै नेपाल समूहका सांसदहरू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।
सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि समानान्तर गतिविधि नरोकेको, पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिँदै हिँडेको र संसदीय दलको बैठकमा सहभागी नभएको भन्दै महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले स्पष्टिकरण सोधेका थिए।



लोकपाटी न्यूज

