काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ। कलंकीस्थित मोगा बैंक्वेटमा जारी बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने एक नेताले बताए।
नेपाल पक्षका केन्द्रीय सदस्य राजेन्द्र राई भने, ‘पार्टीभित्र देखिएको पछिल्लो विवादका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।’ बैठकबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विधानअनुरूप काम गर्न र विधानभित्र रहेर पार्टी बैठकहरू सञ्चालन गर्न सामूहिक दबाब दिने तयारी छ।
पछिल्लो समय सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले ब्यूँतिएपनि ओलीले एकलौटी ढङ्गले बैठकहरू डाकेको र विधान विपरीतका निर्णयहरू गरिरहेको यो पक्षको आरोप छ। त्यसैले उनीहरूले ओलीलाई विधान विपरीतका कार्य रोक्न अनुरोध गर्ने, नभए त्यसको सामूहिक प्रतिवाद गर्ने जनाएका छन्।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र नेपाल समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबीच देखिएको विवाद चरम रूपमा पुगेको छ। ओली पक्षले आफ्नो समूहको बैठक राखेर विधान संशोधन गर्ने, पदमुक्त गर्ने, जिम्मेवारी तोक्ने लगायतको काम गर्दै आएको छ भने नेपाल पक्षले पनि समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ।
यसैबिच, पार्टी अध्यक्ष ओलीले आजै संसदीय दलको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्दै छ। बालुवाटारमा बस्ने पार्टीको कुनै पनि बैठकमा सहभागी नहुने घोषणा गरेको नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुने वा नहुने भन्नेबारे समेत आजको केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताइएको छ।



लोकपाटी न्यूज

