काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीसहित सम्पूर्ण राजनीतिक बन्दीहरुलाई निःशर्त रिहाइको माग गरेका छन्। भट्टराईले राजनीतिक बन्दीहरुको तुरुन्त र निःशर्त रिहाइको माग गरेका हुन्।
उनले थारुलगायत उत्पीडितहरुको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर्न पनि माग गरेका छन्। भट्टराईले यही नै जसपाको सर्वसम्मत र निरन्तरताको अडान भएको बताएका छन्। जसपाले निरन्तर रुपमा उठाउँदै आएका माग अहिलेको सत्ता स्वार्थमा मोलतोल हुनै नसक्ने भट्टराईले बताए।
भट्टराईले समाजिक सञ्जालमा लेखेका छन्, ‘रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र नि:शर्त गर! थारूलगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर! यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो! यो क्षणिक सत्ता स्वार्थ निम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस!’



लोकपाटी न्यूज

