काठमाडौँ। एमाले नेता माधवकुमार नेपालले आफूलाई स्पष्टीकरण सोधिएकामा उल्टै पार्टी विधानविपरीत कार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै कारबाही किन नगर्ने भनेर पत्र पठाएका छन् । एमाले महासचिव ईश्वर पोखरेलले गत सोमबार पार्टी हितविपरीत कार्य गरेकाले कारबाही किन नगर्ने भन्दै नेपालसहित चार नेतालाई स्पष्टीकरण पत्र पठाएका थिए।
नेता नेपालले बिहीबार अध्यक्ष ओलीमाथि नै कारबाहीको माग गरेर पत्र पठाएका हुन् । महासचिव पोखरेलले सोधेको स्पष्टीकरण पत्रलाई पार्टी केन्द्रीय कार्यालयको नाम, छाप र चिह्न अंकित आफ्नो जानकारीबिनै घरमा छाडिएको एक पत्रको संज्ञा दिँदै नेता नेपालले त्यसको जवाफ नदिई सिधै अध्यक्ष ओलीलाई पत्र लेखेका छन् । पत्रमा ओलीलाई एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष भन्दै सम्बोधन गरिएको छ।
‘देशको संविधान र देशकै प्रतिष्ठा र मर्यादामा आँच पुर्याएको, सिद्धान्त, नीति र अनुशासनबाट च्युत भएको, पार्टी देशको गोपनीयता भंग गरेको, गराएको, विपक्षीसँग अनेक पटक साँठगाँठ गर्दै पार्टीलाई कमजोर तुल्याएकाले नेपाली जनता र नेकपा (एमाले) पार्टी पंक्तिलाई तीसमेत धेरै विषयमा स्पष्टीकरण दिनुपर्ने प्रस्ट छ,’ नेपालको पत्रमा उल्लेख छ, ‘तपाईले गरेका उक्त गतिविधि एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय ७ का विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारबाही गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ।’
ओलीले गरेको क्रियाकलापमाथि एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचिन केन्द्रीय कमिटीमा छलफल हुन आवश्यक रहेको औंल्याउँदै नेता नेपालले केन्द्रीय कमिटीमा हालै गरेको मनोनयन र महाधिवेशन आयोजक कमिटी गठनको निर्णयलाई अवैध भनेका छन् । ‘अवैधानिक किसिमले गठन गरिएको कुनै महाधिवेशन आयोजक कमिटीको कुनै पदाधिकारीले मलाई कुनै पनि प्रकारको पत्राचार गर्ने कार्य नै अवैध भई अमान्य छ,’ नेता नेपालले पत्रमा भनेका छन् ।
महासचिव पोखरेलले तत्कालीन नेकपामा हुँदाका क्रियाकलापमाथि केन्द्रित रहेर नेता नेपाललाई १० बुँदामा प्रश्न गरेका थिए । त्यसको प्रत्युत्तरमा नेपालले १३ बुँदे पत्र पठाउँदै सर्वोच्च अदालतले एमालेका रूपमा पुरानो पार्टी ब्युँताइदिएपछि ओलीले बलमिचाइँ र विधानविपरीतका क्रियाकलाप गरेको भन्दै उल्टै प्रश्न गरेका छन् । नेपालले ओली नै पार्टी विभाजनको दिशामा लागेको र पुष्पकमल दाहालको बढ्ता मतियार ओली नै भएको उल्लेख गरेका छन् ।
तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालको मतियारका रूपमा किन काम गरेको भन्ने प्रश्नमा नेपालले त्यसको सन्दर्भसहित उल्टै ओलीलाई प्रश्न गरेका छन् । दाहाल संलग्न कार्यक्रममा आफ्नो सहभागितालाई लिएर कसैको मतियार भएको देख्नु ओलीको व्यक्तिवादी अभिव्यक्ति भएको उनले उल्लेख गरेका छन् । ‘पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधिसभा विघटनसम्मको अवधिमा तपाईंले पुष्पकमल दाहाल प्रचण्डसँग गरेका सम्झौता, गोप्य बैठक र सहकार्यका आधारमा तपाईं नै उहाँको सबभन्दा ठूलो मतियार हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन,’ नेता नेपालले भनेका छन् ।
महासचिव पोखरेलद्वारा प्रेषित पत्रमा नेकपाको झन्डै तीनवर्षे कार्यकालमा भएका कुराप्रति भ्रम सिर्जना गर्ने खालका विषय रहेको उल्लेख गर्दै नेपालले ओलीमाथि प्रश्न गरेका छन् । ‘पार्टी एकीकरणपश्चात् स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सञ्चालनमा कसले कहाँ स्वेच्छाचारी र अनुशासनहीन काम गर्यो तथा कसले विधान एवं पद्धति मिच्यो भन्ने सन्दर्भमा तपाईंले तथ्यगत जानकारी चाहेको भए तपाईंले पुनःस्थापित नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएर तत्सम्बन्धमा छलफल गर्ने आँट किन गर्नुभएन ?’ नेपालले ओलीसँग प्रश्न गरेका छन्, ‘यथार्थमा तपाईं स्वयंले पटक–पटक पार्टी विधान, पद्धति र निर्णयको उल्लंघन तथा अवज्ञा गर्नुभएकाले यसबारे बैठक नै नगर्ने चाल चाल्नुभएको होइन र ?’
नेता नेपालले गत फागुन २८ गते माओवादी केन्द्रका नेताहरूलाई पार्टीमा भित्र्याएर केन्द्रीय कमिटीमा मनोनयन गर्ने ओलीको कदमप्रति गम्भीर आपत्ति जनाएका छन् । उक्त निर्णय विधानविपरीत भएको उल्लेख गर्दै उनले ‘पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ?’ भन्ने प्रश्न गरेका छन् । ओलीले नेपाल पक्षका नेताहरूलाई जानकारी नदिई फागुन २८ मा केन्द्रीय कमिटी बैठक गरी गृहमन्त्री रामबहादुर थापासहितका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गरेका थिए ।
नेता नेपालले हालै गरेको आफू पक्षको राष्ट्रिय भेलाको औचित्य पुष्टि गर्ने कोसिस गरेका छन् । उनले पार्टी विभाजनतर्फ ओली गएकाले एकताका लागि मुलुकभरका कार्यकर्ताले चिन्ता गरेको जनाएका छन् । ‘पार्टी विधान र पद्धतिलाई ध्वस्त गर्नेतर्फ तपाईं उद्यत् हुनुभएपछि नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धति रक्षाका लागि देशभरिका कार्यकर्ताले गरेको छलफल र चिन्ता पार्टीको रक्षा एवं हितका लागि अत्यावश्यक भएको तथ्य स्पष्टै छ,’ नेता नेपालले भनेका छन्, ‘तपाईंले बालुवाटारमा गुटको अवैधानिक भेलालाई पार्टी केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिने पार्टी विधानविपरीतको कार्य गर्नुका साथै पार्टीसँग सम्बद्ध जनसंगठनहरूको स्वेच्छाचारी किसिमले गठन र पुनर्गठन गर्दै पार्टी एकता र प्रणालीमाथि नै प्रहार गरी पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरिरहनुभएको छैन र ?’
उनले नेकपामा हुँदा ओलीले गरेको क्रियाकलापमाथि पनि प्रश्न गरेका छन् । मुलुक कोरोना संक्रमणको महामारीमा परिरहेका बेला गत वैशाखमा पार्टी विभाजन गर्ने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन् । पछि आफूनिकट कार्यकर्तालाई प्रयोग गरेर गत साउनमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्न लगाएको प्रसंगसमेत नेपालले पत्रमा उप्काएका छन् ।
ओलीको कम्युनिस्ट आन्दोलनलाई विभाजन गराइराख्ने गलत मनसाय नै रहेको नेपालले उल्लेख गरेका छन् । त्यही मनसायका कारण सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनः मिल्ने भए निर्वाचन आयोगमा जानू भनेकामा त्यसलाई बेवास्ता गर्दै केन्द्रीय कमिटी बैठक नै नबोलाएको आरोप ओलीमाथि नेपालले लगाएका छन् । उनले पार्टी विधानका धारा पनि उद्धृत गर्दै पार्टी कमिटी, त्यसको गठन, निर्णय प्रक्रिया, मनोनयन प्रक्रियालगायतका विषयबारे ध्यानाकर्षण गराएका छन् ।



लोकपाटी न्यूज

