काठमाडौं। सरकारले थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीको लगायतको रिहाईको प्रक्रियाका लागि वार्ता टोली गठन गर्ने भएको छ। आज बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले वार्ता टोली गठन गर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।
थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिले माइतीघरमा गरेको धर्ना कार्यक्रममा पुगी उनले सो जानकारी दिएका हुन्। उनले धर्नास्थलमै उनीहरुले उठाएका मागप्रति सरकारको सकारात्मक धारणा रहेको बताए। सो समस्यालाई सरकारले वार्ता र संवादमार्फत् समाधान चाहेको उनले बताए।
‘सरकारले एउटा वार्ता टोली गठन गरेर यो विषय समाधान गर्न चाहन्छ। तपाईंहरु पनि वार्ता टोली बनाउनुहोस्,’ उनले भने, ‘आज क्याबिनेट बैठक छ। त्यहाँ वार्ता टोली गठन गर्छौं। छिटै अब यो समस्या वार्ता र संवादद्वारा नै हल गरेर अघि बढ्नुपर्छ।’
कतिपय विषयहरु राजनीतिकरुपले हल गर्नसकिने र कतिपय कानूनी र प्रशासनिक रुपले हल गर्नुपर्ने अवस्था रहेको उनले बताए। ‘यसलाई अब हामीले विभिन्न रुपले हल गर्दैछौं। हल गर्ने निष्कर्षमा सरकार पुगेको छ। धर्ना अन्त्य गरेर वार्ता टोली गठन गर्न र आन्दोलनलाई वार्ताकै रुपमा अघि बढाउन अनुरोध र विश्वास गर्दछु,’ उनले भने।
चौधरी २०७२ सालमा टिकापुरमा सात प्रहरी र एक बालक मारिएको घट्नामा जिल्ला अदालतबाट दोषी ठहर भई जेलमा रहेका छन्। आन्दोलनरत् समूहले टिकापुर घट्ना राजनीतिक घट्ना भएको हुँदा त्यसलाई राजनीतिक मुद्दाको रुपमा समाधान गर्नुपर्ने माग राखेका छन्।



लोकपाटी न्यूज

