ओलीले बोलाए एमाले संसदीय दलको बैठक

kp_oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन्। शुक्रबार दिउँसो ३ बजेलाई दलको बैठक बोलाइएको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

‘भोलि दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान भएको छ,’ उनले भने। प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको बताइएको छ। मुख्य सचेतक विशाल भट्टराईका अनुसार बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय गरिएको छ।

‘विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा सांसदहरुबाट सुझाव लिने, चालु प्रतिनिधिसभा बैठकको अधिवेशन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुन्छ। अर्को, दललाई एक ढिक्का बनाएर कसरी लैजान सकिन्छ भनेर छलफल हुन्छ,’ भट्टराईले भने।

एमाले पुनःस्थापनापछि तीनपटक दलको बैठक बस्दा पनि माधव नेपाल पक्ष सहभागी भएको छैन। बालुवाटारमा हुने संसदीय दलको बैठकमा पनि नेपाल पक्षका सांसदहरू उपस्थित हुने/नहुने टुंगो छैन। बालुवाटारमा हुने बैठकमा सहभागी नहुने नेता नेपालले बताउँदै आएका छन्। ‘उहाँहरू पनि आउनुहुन्छ। प्रधानमन्त्रीले दललाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रयास गर्नुहुन्छ’, भट्टराईले भने।

पछिल्लो पटक चैत ७ गतेको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो। प्रतिनिधिसभामा १२० एमाले सांसदमध्ये माधव नेपाल पक्षमा हाल ३५ जना छन्। शुक्रबार नेपाल पक्षको केन्द्रीय समिति बैठक डाकेको छ।