काठमाडौं। भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले दिनेशको डीएनए प्रयोगशालाबाट म्याच भएको जानकारी दिए। बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन्।
उनको बलात्कारपछि हत्या भएको खुलेको थियो। जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो। स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको प्रहरीको भनाई छ। प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए। उनलाई फागुन २६ मा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो। सुधार गृहमा रहेका वेला उनले आफू घटनामा संलग्न नरहेको बयान दिएको विवरण सार्वजनिक भएको थियो।



लोकपाटी न्यूज