नेपाल पक्षले बोलायो केन्द्रीय समिति बैठक

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक शुक्रवार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिए। पार्टी अप्ठ्यारो अवस्थामा पुगेकोले अब पार्टीमा कसरी अगाडि बढ्ने विषयबारे रणनीति तय गरिने बताइएको छ।

‘हाम्रो पक्षका नेताहरू जो काठमाडौंमा उपलब्ध छन् उहाँहरूसँग छलफल गर्न बैठक बोलाइएको हो,’ ज्ञवालीले भने, ‘धेरै सदस्यहरू त जिल्लामा हुनुहुन्छ, उपत्यकामा हुने जतिलाई खबर गरिएको छ।’ उनले पार्टीमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए।

‘पार्टी अहिले अप्ठ्यारो अवस्थामा छ। पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेन्डा हो,’ ज्ञवालीको भनाइ छ। यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन्।

ओलीले फागुन २३ पछि एक पक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरूको जिम्मेवारी खोसेको भन्दै माधव पक्षले समानान्तर गतिविधि गर्दै आएको छ। राष्ट्रिय कार्यकर्ता भेला, जनवर्गीय संगठनहरुको बैठक लगायतका गतिविधि गरेको माधव पक्षले अब चाँडै जिल्ला जिल्लामा पनि समानान्तर संगठन निर्माणको तयारी गरिरहेको छ।

उता, बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले नै वरिष्ठ नेता नेपालसहित चार जना नेताहरूलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्न गरेको निर्णयअनुसार नेताहरूलाई सोमबार पत्र पठाएर स्पष्टीकरण सोधिएको छ। उक्त स्पष्टीकरणको प्रतिप्रश्न गर्दै जवाफ दिने तयारीमा नेताहरू जुटेका छन्।