चार नेताको स्पष्टोक्ति : ‘ओलीका कर्तुत चिरफार हुने गरी जवाफ पठाउँछौं’

madhav nepal team
लोकपाटी न्यूज

काठमाडौँ। पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शनिबार बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यसैका आधारमा तीन दिनअघि चारै जनालाई महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण पत्र पठाएका थिए। केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गर्दै केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको थियो।

त्यसपछि चार जना नेतालाई महाधिवेशन आयोजक कमिटीका सदस्यको रूपमा सम्बोधन गर्दै स्पष्टीकरण पत्र पठाइएको थियो। ‘हामी प्रतिउत्तर दिन्छौँ, आयोजक कमिटी र त्यसको महासचिव भन्ने कुरा नै नक्कली हो, त्यसैले त्यो नक्कली चिठी हो,’ नेता भुसालले भने।

‘दुनियाँलाई भ्रम नहोस् भन्नका लागि पनि हामीले केही भन्नुपर्नेछ।’ सबै नेताहरूबीच छलफल गरेर त्यसका आधारमा जवाफ दिने जानकारी उनले दिए। प्रतिउत्तरमा के–के विषय कसरी समेट्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन। स्पष्टीकरण सोधिएका चिठीहरू पहिले नै सञ्चारमाध्यममा आए पनि उनीहरूले पत्र प्राप्त गरेपछिको तीन दिनको समयसीमा बिहीबार पुग्दै छ। स्पष्टीकरण पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ नआए कारबाही किन नगर्ने भन्ने प्रश्न सोधिएको छ।

ओलीका तर्फबाट पोखरेलले सोधेको स्पष्टीकरणमा नेपाल, रावल, भुसाल र पाण्डेले आफ्नै पार्टी अध्यक्षलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको, प्रचण्डसँग मिलेर पार्टीविरोधी गतिविधि गरेको, समानान्तर कमिटीहरु गठन गरेको, पार्टी अनुशासन उल्लंघन गरेकोजस्ता अभियोग लगाइएको छ।