काठमाडौँ। प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कायमै रहन्छ कि ढल्छ भन्ने अन्योल थियो। तर, पुनःस्थापित प्रतिनिधिसभाको पहिलो दिनको बैठकअघि सर्वोच्च अदालतले गरेको फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि प्रधानमन्त्री ओली झन् शक्तिशाली भए।
यस्तो अवस्थामा ओलीको विपक्षमा रहेका कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले विकल्प दिन सकेका छैनन्। यसमा जसपाको भूमिका कस्तो हुने भन्ने आशंका दिनदिनै बढिरहेको छ। जसपाको एक धार प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्य गर्न सकारात्मक देखिएको र अर्को पक्ष कुनै पनि हालतमा त्यसो गर्न नहुने भन्ने धारणा राख्दै आएको छ।
तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ओलीसँग सत्ता साझेदारी गर्न नसकिने निष्कर्षमा छन्। पूर्वराष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु आफ्ना सांसद रेशम चौधरीको रिहाइ, मधेश आन्दोलनका मुद्दा सम्वोधन र सरकारमा सम्मानजनक हिस्सा पाए सत्ता साझेदारी गर्न तयार रहेको बेला यादव भने प्रतिगमनकारीसँग सहकार्य गर्न नसकिने निष्कर्षमा छन्।
यादवले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले विराटनगरमा व्यक्त अभिव्यक्तिको समेत आलोचना गरेका छन्। मंगलबार देउवाले विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस विपक्षी दल भएकाले सरकारमा पनि नजाने र अविश्वासको प्रस्ताव पनि नल्याउने बताएका थिए।
तर, यादवले देउवाको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै कांग्रेस विपक्षी दल हो कि सरकारको शाखा भन्ने प्रश्न गरेका छन्। विपक्षीमा बसेर सरकारलाई समर्थन गर्ने देउवाको अभिव्यक्तिप्रति यादवले कटाक्षसमेत गरेका छन्।
कांग्रेस सभापति देउवा फेरि पनि संसद भंग गर्नैपर्ने संवैधानिक बाध्यता सिर्जना गरेर मुलूकलाई मध्यावधि निर्वाचनमा धकेल्न चाहन्छन्। त्यसैकारण उनले प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गतेको कदमलाई समेत समर्थन गरेका थिए।



लोकपाटी न्यूज

