पाँच घण्टादेखि नेपाल समूहका नेताहरुको छलफल जारी

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यहरुको छलफल जारी छ। एक स्थायी समिति सदस्यका अनुसार बिहान ११ बजेबाट राजधानीको मनमैजुस्थित धनबहादुर गुरुङको घरमा छलफल जारी छ। स्पष्टीकरणको जवाफ लगायतका विषयमा नेताहरुबीच छलफल भइरहेको छ।

स्पष्टीकरण दिने/नदिनेमा नेपाल पक्षभित्र मत विभाजित भएको बुझिएको छ। ‘के गर्ने भन्नेबारे छलफल जारी छ, सकिएको छैन,’ एक नेताले भने। एमालेका महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ३ दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए। स्पष्टीकरणको म्याद आज सकिँदैछ।

पत्रमा उल्लेख भएअनुसार स्पष्टीकरण पेस गर्ने मिति आज, बुधबारसम्मलाई छ। ‘स्पष्टीकरण के दिने, कसरी दिने र कस्तो दिने भन्नेबारे निर्णय गर्न सबै सिनियर नेताहरुबीचमा छलफल गरिएको हो,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘सम्भवतः साँझसम्म हामी यसबारे टुंगो लगाउँछौं र स्पष्टीकरण पनि दिन्छौं।’

स्पष्टीकरण विधानको मर्मविपरीत भएकाले पार्टीमा स्पष्टीकरण नबुझाउने, बरु सञ्चारमाध्यममै आफ्नो धारणा प्रष्ट गरेर प्रधानमन्त्री ओलीलाई समेत प्रश्न गर्नुपर्ने धारणा पनि नेपालपक्षमा देखिएको छ। त्यसैगरी, स्पष्टीकरण पार्टीले सोधेकाले पार्टीमै स्पष्टीकरण पेस गर्नुपर्छ भन्ने धारणा पनि छ। स्पष्टीकरण एकमुष्ठ दिने वा अलग अलग पत्रका रुपमा दिने भन्नेबारे समेत मतैक्य भइसकेको छैन।