काठमाडौं। गृहमन्त्रालयले कोरोना भाइरस कोभिड–१९ को सम्भावित दोस्रो लहरलाई लिएर गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। कोभिड-१९ को खतरा फेरि दोहोरिन सक्ने भन्दै गृहमन्त्रालयले क्वारेन्टाइन र आइसोलेसन कक्षलाई तयारी अवस्थामा निर्देशन दिएको हो।
गृहमन्त्रालयका उपसचिव एवं सूचना अधिकारी खुमकान्त आचार्यले चैत ९ गतेकै मितिमा देशका सबै ७७ वटै जिल्ला प्रशासनलाई कोभिडको सम्भावित जोखिमसँग जुध्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए।
उनले भने, ‘नेपालमा फेरि कोरोनाको जोखिम बढ्ने अवस्था देखिएको छ। त्यहीकारण गृहले जिल्ला प्रशासन कार्यालयहरुलाई यस्तो निर्देशन दिएको हो। स्वास्थ्य मन्त्रालयले चैत ८ मै कोरोनाको जोखिम बढ्ने अनुमानसहित सचेत गराइसकेकाले हामीले जिल्ला प्रशासनहरुलाई तयारी अवस्थामा रहन भनेका हौँ।’
गृहले गरेको परिपत्रमा सभा, भेला, सम्मेलन र भीडभाड हुने सबै गतिविधि रोक्न भनेको छ। साथै स्वास्थ्य मापदण्ड पालना गर्न लगाउन पनि निर्देशन दिइएको आचार्यले जानकारी दिए। कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले ८ चैतमै भेला, बैठक, गोष्ठी नगर्न आग्रह गरेको थियो।
मन्त्रालयले संक्रमणको रोकथामका लागि कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न पनि अनुरोध गरेको थियो। केही हप्तादेखि विश्वका विभिन्न मुलुक र छिमेकी देश भारतमा समेत संक्रमण तीब्र गतिमा बढिरहेका बेला नेपालमा पनि संक्रमणको जोखिम बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका थिए।



लोकपाटी न्यूज

