नेकपा एमालेको नयाँ पार्टी मुख्यालयमा ‘परी’ नामको रोबोटले कार्यालयमा आउनेहरुलाई गेटमा स्वागत गर्ने भएको छ। नेपालमै बनेको उक्त रोबोटले मानिसहरुले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने जनाइएको छ।
उक्त भवनको आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन्। ओलीले थापाथली पुगेर पार्टी मुख्यालयको नयाँ भवनको निरीक्षण गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले सबै कोठाको निरीक्षण गरेका थिए। कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्बाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सर्न लागिएको जानकारी दिए।
‘चक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ,’ उनले भने, ‘त्यसैले थापाथलीमा कार्यालय सर्न थालिएको हो। हामी चाँडै सर्छौ।’
२०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो। प्रतिष्ठानको भवन मासिक रु दुई लाख २५ हजार तिरिँदै आएको थियो।
एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने कार्यक्रम छ।



लोकपाटी न्यूज

