काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थीहरूले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)मा समानान्तर कमिटी बनाएका छन्। नेपाल पक्षका विद्यार्थीहरूले अनेरास्ववियूमा अलग्गै नेतृत्व चयन गरेका हुन्।
काठमाडौंमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को राष्ट्रिय भेलाले मंगलबार राति ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो। नेपाल पक्षीय अखिलमा सुदेश पराजुली अध्यक्ष छन्। सह-अध्यक्षमा ओसिम आलम र महासचिवमा आरती लामा छन्। उनीहरू तीनै जना अनेरास्ववियूका सचिव थिए।
नेपाल पक्षीय अनेरास्ववियुको उपाध्यक्षमा यशु लामा, रेनु शाही, माधव पन्त, कल्पना थापा, सुदीप शर्मा, लोकेश निरौंला र केशरी रेग्मी छन्। कोषाध्यक्षमा दिपेश प्रसाईंलाई चयन गरिएको छ। त्यस्तै, सातै प्रदेशको नेतृत्व पनि बनाइएको छ भने १३ जनाको स्थायी कमिटी गठन गरिएको छ।
माधव नेपाल पक्षले यसअघि जयन्ती राईको नेतृत्वमा महिला संघ र नरेश शाही अध्यक्ष रहेको युवा संघको समानान्तर कमिटी बनाइसकेको छ। गुटको भेला गरेको भन्दै एमालेको संस्थापन पक्षले माधव नेपाललगायतका चार नेतासँग स्पष्टीकरण सोधिसकेको छ। समानान्तर भेला र कमिटीहरू गठन गर्नेमाथि कारबाही गरिने चेतावनी एमालेले दिइसकेको छ।
यसैबिच अनेरास्ववियूका अध्यक्ष ऐन महरले संगठनको नाममा भेला गर्नेहरूमाथि अनुशासनको कारबाही गर्ने चेतावनी वक्तव्यमार्फत दिएका छन्।




लोकपाटी न्यूज

