काठमाडौं। नेत्रविक्रम चन्द नेकपाले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ।
चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो।
प्रतिबन्ध फुकुवापछि प्रहरी हिरासतमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन्। अदालतको आदेशमा पुर्पक्षमा क्रममा भएका १ सय २६ जना विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन्। प्रहरी हिरासतमा भएका ७ जना अझै छुट्न बाँकी छन्।
भेटमा प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर सहमति अनुसार बन्दी रिहा र मुद्दा फिर्ता गर्दै लगिने प्रतिबद्धता जनाएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए।
२०७५ फागुन २८ गते प्रतिबन्ध लागेपछिको दुई वर्षमा चन्द समूहबाट ४ सर्वसाधारण र सुरक्षा कारवाहीमा चन्द समूहका ४ जनाको ज्यान गएको थियो। प्रतिबन्ध फुकुवापछि चन्द समूह मूलधारको राजनीतिमा आइसकेको छ। कान्तिपुर दैनिकबाट



लोकपाटी न्यूज

