काठमाडौं। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले इमान्दार दलसँग सहकार्य गर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकपछि संसद् भवन नयाँ वानेश्वरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले यस्तो बताएका हुन्। उनले भने, ‘जो इमान्दार भएर आउँछ उसलाई सहयोग गर्ने हो। इस्युसँग जो उभिन्छ, उसलाई सहयोग गर्ने हो।’
अहिलेको सरकारले आफूहरूको मुद्दा सम्बोधन गर्छु भनेको पनि महतोले बताए। ‘अहिलेको सरकारले गर्छु भनेको छ, यसको काम राम्रो छ कि छैन हेरौं न।’ नेता महतोले भने। उनले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रूपमा अगाडी बढेको पनि बताए।
‘पहिले मुद्दा मामिलाको काम अगाडी बढेमा सत्ता समीकरणलगायतको विषयमा कुरा गर्छौ। नेता, कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टी भित्र एकमत छ,’ महतोले भने, ‘नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरे पनि निर्णय भने पार्टीले गर्छ। पहिले मुद्दा मामिलाको अगाडी बढोस् न। अनि बाँकी कुरा पनि गरौँला नि त।’
जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले भेटमा माग पूरा गर्ने आश्वासन दिएको बताए। छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनु पर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको कर्णले बताए।
सत्ता साझेदारीका लागि महत्त्वपूर्ण हैसियतमा रहेको जसपाले जेलमा रहेका सांसद रेसम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका विषयलाई मागका रूपमा अघि सारेको छ। मंगलबार पनि जसपा नेताहरूले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए।



लोकपाटी न्यूज

