ओलीजी विचारले हारिसकेको व्यक्ति हुन् : सुरेन्द्र पाण्डे

surendra_panday
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले गणतन्त्रमा केपी शर्मा ओली प्रधानमन्त्री बन्नु दुर्भाग्य भएको टिप्पणी गरेका छन्। मंगलबार अनेरास्ववियूको राष्ट्रिय भेलामा नेता पाण्डेले ओलीले गणतन्त्रका लागि आन्दोलन नगरेको समेत बताए। गणतन्त्र आउँछ भन्नु बयलगाढा चढेर अमेरिका जानु जस्तै हो भनी अभिव्यक्ति दिने व्यक्तिले नै अहिले ‘गणतन्त्रको नायक मै हो’ भन्न थालेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

‘जतिखेर राजाले ०६२/६३ को आन्दोलनपूर्व नेताहरुलाई थुनेर, लोकतन्त्रमाथि घाँटी निमोठेर फेरि एकलौटी शासनको कुचेष्टा गरिरहेका थिए, यो अनेरास्ववियू झण्डा बोकेर सडकमा उत्रेको थियो। त्यसबेला बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन भन्नु भएको थियो,’ पाण्डेले भने, ‘त्यतिबेला ओलीजीले लिएको विचारले हार्‍यो। ओलीजी अब त गणतन्त्रको नायक मै हो भन्न थाल्नु भएको छ। तर, आफ्ना कमजोरीलाई देखिरहनु भएको छैन।’

विद्यार्थीले पढ्न हुँदैन भन्ने मान्छे देशको प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुनु दुर्भाग्यपूर्ण भएको बताए। प्रधानमन्त्री ओलीले एक कार्यक्रममा विद्यार्थी पढ्ने जमात हैन भनेको भन्ने प्रसंग निकाल्दै पाण्डेले भने, ‘पार्टीका अध्यक्ष ओलीजीले एउटा कार्यक्रममा भन्नु भएको थियो, विद्यार्थी पढ्ने जमात हैन। बुद्धले पढेका थिए ? भनेर उदाहरण दिनु भएको थियो। यस्तो व्यक्ति हाम्रो पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री हुनु दुर्भाग्यपूर्ण कुरा हो। जसले विद्यार्थीलाई पढ्न हुँदैन भन्छ। र, नपढ्ने कुराको शिक्षा दिन्छ। त्यस्तो मान्छे अरु देशमा भए राजनीतिबाटै सन्‍न्यास लिएर जानुपर्ने स्थिति आउँथ्यो। तर दु:खद् कुरा हामीले यस्ता नेता बेहोर्‍यौं।’