काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले स्पष्टीकरण प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताएका छन्। मंगलबार अनेरास्ववियूको राष्ट्रिय भेलामा नेता रावलले स्पष्टीकरण आफूहरूले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताएका हुन्। उनले केपी ओलीले एमाले फुटाउन खोजेको आरोप लगाए।
‘केपी शर्मा ओली जीको फागुन २८ बसेको अवैध केन्द्रीय समितिको कुनै पनि निर्णय हामी मान्दैनौं। नेपाली जनताले तपाईँ सोधिरहेका छन्, प्रतिनिधिसभा विघटन किन गर्नुभयो ?’ रावलले भने, ‘पार्टीको विधान मिचेर मनपरी किन गर्नुभयो आफ्नो केही गुटका मान्छे बोलाएर, हामीलाई थाहा नै नदिई, केपी शर्मा ओली जीले पार्टी फुटाउने षडयन्त्र गर्नुभयो। पार्टीमा विभाजनको रेखा कोर्नुभयो। तै पनि हामीले उहाँलाई भन्यौं तपाईँले यो निर्णय फिर्ता लिनुहोस्। तर, उहाँले मान्नु भएन।’
उनले स्पष्टीकरण सोध्दै आफूहरूलाई काटिएको पत्रलाई नक्कली केन्द्रीय समितिको अवैध पत्रको संज्ञा दिएका छन्। रावलले भने, ‘त्यस्तो नक्कली लुगा फुकालेर जस्ताको जस्तै जनतामा ल्याइदिन्छौं।’ पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरूले आफूहरूलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताए।
पार्टी सदस्य नै नभएकाहरूलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको उनको भनाई छ।



लोकपाटी न्यूज

