काठमाडौं। नेकप एमालेका नेता माधवकुमार नेपालले पुनः कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरिछाड्ने बताएका छन्। मंगलबार अनेरास्ववियूको राष्ट्रिय भेलामा नेता नेपालले ओली पार्टी विभाजन र कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न तुल्याउन उद्यत रहेकाले आफूहरू एकताबद्ध बनाउने बाटोमा रहेको बताए।
उनले ओलीको दासत्व नस्वीकार्ने पनि बताए। ‘हामी कसैको दास बन्न तयार छैनौं। हामीले यति राम्रो काम गरेका छौं। ओलीबाट पीडित भएका मानिसहरूलाई आशा जगाएका छौं,’ नेपालले भने। नेता नेपालले इतिहासको कालखण्डमा आफूले काँध थापेका, बोकेका केही मानिसले धोका दिए पनि अहिले इमान्दार कार्यकर्ताको पंक्ति आफूसँगै रहेको जिकिर गरे। उनले सिद्धान्तनिष्ठ, विचार, चिन्तक कार्यकर्ता पंक्ति आफूसँगै रहोस् भन्ने चाहना रहेको पनि बताए।
उनले ओली प्रवृत्तिविरुद्ध कुनै पनि सम्झौता नगर्ने र पार्टीलाई विभाजन पनि नगर्ने दोहोर्याए। ‘पार्टी अध्यक्ष भएको मानिस अभिभावक बन्नुपर्ने होइन ? सबैलाई समेट्नुपर्ने होइन ?,’ उनको प्रश्न थियो। नेता नेपालले आधिकारिक एमाले आफूहरू रहेको बताए। उनले केपी ओलीले त्यसको प्रचार गरिरहेको बताए। उनले ओलीको भ्रमबाट पनि आम कार्यकर्ता र जनतालाईमुक्त गर्नुपर्ने उनको भनाइ छ।
‘९औं महाधिवेशनमा विचार हाम्रो पास भएको थियो,’ उनले भने, ‘नेता बन्न पुगे ओली। उनले आज पार्टीलाई विघटनको दिशामा लाँदैछन्। छिन्नभिन्न बनाएका छन्। ओलीको भ्रमबाट धेरैलाई मुक्त गर्नुपर्छ। कार्यकर्ता र जनतालाई मुक्त गर्नुपर्छ। एमाले हामी हौं। ओलीले प्रचार गरे पनि। जबजको हकदार हामी हौं। ओलीले प्रचार गरे पनि। जबज र ओलीको कहिले भेट भएको थियो। जबजको मान्यतामा अघि बढेका छन् ?’
जनताको भावना र राष्ट्रिय राजनीतिको नाडी समाउन नसकिए कम्युनिष्ट इतिहास बन्ने उनको भनाइ छ। ‘राष्ट्रिय राजनीतिको नाडी समाउन सकिएन, देश र जनताको मनोभावना बुझ्न सकिएन भने त्यस्ता पार्टीहरू इतिहासको विषय बन्छ। जनताको भावना र राष्ट्रिय आवश्यकता जसले बुझ्न सकेन ती देशमा कम्युनिष्ट पार्टीको अवसान भइसकेको छ। हामी त्यो बाटोमा जाने होइन।’



लोकपाटी न्यूज

