माधव नेपालको प्रश्न : जबज र केपी ओलीको भेट कहिले भएको थियो ?

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पष्टीकरण पत्रबाट नतर्सने बताएका छन्। मंगलबार अनेरास्ववियूको राष्ट्रिय भेलामा नेता नेपालले स्पष्टीकरणको सामना गर्न तयार रहेको बताए। उनले केपी ओलीको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेल भएकाले धैर्यता नटुटाउन आग्रह गरे।

ओलीको स्पष्टीकरण पत्रबाट तर्सिएर मैदान छाड्ने र पार्टी फुटाउने पक्षमा आफू नरहेको उनले प्रस्ट पारे। ‘घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? यो किमार्थ मन्जुर छैन,’ नेपालले भने, ‘कथित स्पष्टीकरणबाट तर्सिने बोला छैनौं, सामना गर्न तयार छौं।’

उनले सबै प्रवृत्तिसँग जुध्दै आएकाले विभाजनबाट जान पनि रोकिने बताए। केहीले माधव नेपाल अलमलमा परेको भन्ने टिप्पणी गर्न थालेको स्मरण गर्दै उनले आफूलाई चिन्न पनि आग्रह गरे। ‘पत्रकार मित्रहरू, तपाईँले मलाई चिन्नुभएकै रहेनछ। राजासँग कसरी डिल गरियो, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसँग कसरी डिल गरियो, मैले भन्न बाँकी नै छ,’ नेपालले भने।

नेता नेपालले ओलीले राजावादीलाई प्रोत्साहित गरेको पनि आरोप लगाए। ओलीले जतिसुकै साँठगाँठ गरे पनि अब राजतन्त्र फर्कन नसक्ने, राजतन्त्रका अवशेषलाई परास्त गरिछाड्ने बताए। नेता नेपालले राजतन्त्रवादी शक्तिहरूले प्रोत्साहन पाएर पनि उनीहरूलाई परास्त गरेरै छाड्ने बताए। ‘केपी ओलीले जतिसुकै साँठगाँठ गरुन्, अब राजतन्त्र फर्किँदैन। हामी परास्त गरेरै छाड्छौं,’ उनले भने।

ओलीले अहिले जनताको बहुदलीय जनवाद (जबज) हाम्रो हो, एमाले हाम्रो हो भनेर प्रचार गरिरहेको बताउँदै नेपालले ओली र जबजको भेट कहिले भएको थियो ? भनेर पनि प्रश्न गर्न भ्याए। पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको अवसानपछि जबजलाई समृद्ध बनाउने दिशामा आफ्नो योगदान रहेको तर ओलीसँग भेटै नभएको उनको आशय थियो। उनले ओलीले जबजका मूल्य-मान्यता, मार्गदर्शन आत्मसात् नै गर्न नसकेको पनि बताए।