भारतले नेपाली भूमि अतिक्रमण गर्‍यो, सरकार बोलेको खोइ : दीलेन्द्र बडू

Dilendra Badu
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले नेपाली भूमि भारतले अतिक्रमण गरेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सुरूमै समय लिएर बोलेका सांसद बडुले दार्चुलाको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ मा भारतले एकतर्फी तटबन्ध बनाएकोमा विरोध गरेको हुन्।

‘नेपाल सरकारलाई जानकारीविनै भारतले एकतर्फी ढंगले तीन महिनादेखि तटबन्ध बनाइरहेको छ,’ उनले भने, ‘हाम्रो जमिन समेटेर भारतले तटबन्ध बनायो।’ यसबारे त्यहाँका प्रमुख जिल्ला अधिकारीले भारतीय प्रशासनका अधिकारीलाई जानकारी गराए पनि काम नरोकिएकोले सरकारले पहल गर्नुपर्ने उनले बताए।

‘पटकपटक गृह मन्त्रालयमा यसबारे ताकेता गरिएको छ। के तटबन्ध निर्माणमा मौन सहमति गरिएको छ ?’ उनले प्रश्न गरे। ६ वर्ष पहिले बाढी आउँदा एक हजार ४७ रोपनी जग्गा खोलाले बगाएको र नेपालको जमिन भारततर्फ पुगेको उनको भनाइ थियो। ‘३५ हेक्टर जमिन भारततर्फ बगर छ। त्यो नेपालको जमिन हो। बाढीले खोलाको धार परिवर्तन गर्दा वन कार्यालय, जंगल र मन्दिर क्षेत्र भारततर्फ गएको छ,’ उनले भने।

सांसद बडूले तटबन्ध नरोकिए २/३ वर्षभित्र नेपालतिरका दार्चुलाका विभिन्न तटीय गाउँ सखाप पार्ने खतरा रहेको चेतावनी पनि दिए। घना बस्ती भएका र ऊर्बर जमिन बगाएर लैजाने उनको चेतावनी थियो। उनले नेपाल सरकारका तर्फबाट त्यहाँको निर्माण रोक्नेबारे के भइरहेको छ भन्नेबारे अर्को बैठकमा जानकारी माग पनि गरेका छन्।

‘अन्तर्राष्ट्रिय सीमा नियमको उल्लंघन भएको छ। अब कुनै पनि वर्षामा बाँकी सबै क्षेत्र सखाप पार्ने निश्चित भएको छ। घना बस्ती, उर्वर भूमि मासिने निश्चित छ। यही मन्त्री मण्डलमा गणेश ठगुन्ना मन्त्री हुनुहुन्छ, तर सरकार मौन किन ? किन बोल्दैन सरकार ? के गर्दैछ, गृह र परराष्ट्र मन्त्रालय ?,’ बडुले प्रश्न गरे।