काठमाडौं। नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले नेपालका कम्युनिस्टहरू संसदीय व्यवस्था नै असफल पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा नेता महरले सभामुखले आफ्नो ड्युटी पूरा नगर्ने, सरकारले पनि संसदलाई बिजनेस नदिएर कम्युनिस्टहरूले संसदलाई बन्धक बनाएको आरोप लगाए।
‘संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रूपमा चित्रण गर्ने कम्युनिस्टहरूले जनतामा वितृष्णा फैलाउन खोजेका छन्,’ महरले भने, ‘जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त यो व्यवस्था र प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा गर्न खोजेका छन् कम्युनिस्ट नामधारीहरुले।’
स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्षसमेत रहेका नेता महरले संसद्को औचित्य र प्रभावकारिता बढाउन अब नेपाली काँग्रेसले गम्भीर ढङ्गले सोच्नुपर्ने बेला आएको बताएका छन्। काँग्रेसले अब पनि अग्रसरता नदेखाउने हो भने प्रजातान्त्रिक व्यवस्था नै धरापमा पर्ने नेता महरको भनाइ छ।



लोकपाटी न्यूज

