काठमाडौं। नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ। आफू पक्षीय चार नेतामाथि स्पष्टीकरण सोधिएपछि नेपाल-खनाल पक्षले पनि प्रधानमन्त्री ओलीका राजनीतिक क्रियाकलापबारे स्पष्टीकरण सोध्ने तयारी गरेको हो।
नेपाल-खनाल पक्षको सोमबार बसेको बैठकले काउन्टर स्पष्टीकरण सोध्ने रणनीति बनाएको हो। प्रधानमन्त्री ओलीको नेतृत्वमा शनिवार (चैत ७ गते) बसेको संसदीय दल र केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता नेपालसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
निर्णय बमोजिम सोमबार महासचिव ईश्वर पोखरेलले चारै नेताका घरघरमा स्पष्टीकरणका लागि पत्र काटेका थिए। पत्रमा तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ। तर, नेपाल-खनाल पक्षले भने स्पष्टीकरणको जवाफमा ओलीसँग नै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। नेपाल पक्षका एक नेताले भने, ‘केन्द्रीय कमिटीबाट स्पष्टीकरण मागेपछि नदिने भन्ने कुरा हुन्न। तर, हामी त्यसै झुकेर स्पष्टीकरण दिँदैनौं। ओलीसँग पनि जवाफ माग्छौं, स्पष्टीकरण सोध्छौं। ओलीले गरेका हरेक अपराधको स्पष्टीकरण हामी सोध्नेछौं।’
पार्टीका वरिष्ठ नेतासँग सामान्य छलफलसमेत नगरी ओलीले एकपक्षीय ढंगले पार्टी बैठक बोलाउने, स्पष्टीकरण सोध्नेजस्ता निर्णय गरेकाले स्पष्टीकरण दिनुको कुनै औचित्य नभएको नेपाल-खनाल पक्षले निष्कर्ष निकालेको छ। यसबाहेक सोमबार बसेको यो समूहको बैठकले राष्ट्रिय भेलाले गरेको निर्णय बमोजिम समानान्तर कमिटी निर्माण प्रक्रियालाई तीव्रता दिनेसमेत निर्णय गरेको छ।



लोकपाटी न्यूज

