सरकार गिराउने र बनाउने खेलमा कांग्रेस छैन : देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग देउवाले कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने म्यान्डेड दिएकाले तत्काल सरकारमा नजाने बताएका हुन्।

उनले कांग्रेसले प्रतिपक्षमा बसेर जनताको हितमा काम गरिरहेको बताए। ‘जनताले हामीलाई प्रतिपक्षमा बस्ने म्यान्डेड दिएका छन्,’ उनले भने, ‘म्यान्डेड अनुसार अहिले हामी सरकारमा जाने अवस्था छैन। कांग्रेस विपक्षी हो। विपक्षमै बस्छ।’ देउवाले कांग्रेस सरकार गिराउने र बनाउने खेलमा पनि नलाग्ने धारणा राखे।

उनले कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव नलैजाने स्पष्ट पारे। ‘कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लाँदैन,’ देउवाले भने ‘अरु कुनै पार्टीले लैजान्छ भने हामीलाई थाहा छैन।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको विघटनको प्रस्तावलाई ‘प्रतिगमन’ भन्न इन्कार पनि गरे। उनले भने, ‘अदालतले जे फैसला गरेको छ, हामी मान्छौँ। के को प्रतिगमन ? मलाई थाहा छैन। तपाईंलाई थाहा होला।’