कांग्रेस सरकारमा जाँदैन, अविश्वासको प्रस्ताव पनि ल्याउँदैन : शेरबहादुर देउवा

Sher Bahadur Deuwa
लोकपाटी न्यूज

मोरङ। कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याएका हुन्।

देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए। ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन।’

कांग्रेस अहिलेको सरकारलाई स्विकारेरै अघि बढ्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले दोहोर्‍याए, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’ देउवाले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा ‘अर्ली इलेक्सन’को पक्षमा छन्। ‘अर्ली इलेक्सन’मा दलहरुबिच सहमति जुट्न नसकेपछि कांग्रेस राजनीतिक गतिरोधलाई लम्बाएर चुनावमा जान बाध्य पार्ने रणनीतिमा छ।

नेकपाको एकतालाई सर्वोच्च अदालतले भंग गरिदिएपछि कांग्रेसका लागि परिस्थिति झनै सहज भएको छ। सभापति देउवा कम्युनिस्ट पार्टीमा विभाजन र एमालेको विवादमा खेलेर निर्वाचनमा बहुमत हासिल गर्न सकिने विश्लेषणसहित निर्वाचनमा जानुपर्ने बताइरहेका छन्।

ओली सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएमा ओली अल्पमतमा पर्ने र प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। त्यस्तो परिस्थितिमा कांग्रेस तटस्थ रहेर कतै पनि बहुमत पुग्न नदिने र निर्वाचनमा जान बाध्य पार्ने देउवाको रणनीति छ।