नेकपाबारे सर्वोच्चको फैसला ‘करेक्सन’ हुन्छ : बिडारी

Ramnarayan Bidari
लोकपाटी न्यूज

काठमाडौं। कानुन व्यवसायी रामनारायण बिडारीले नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुने विश्वास व्यक्त गरेका छन्। माओवादी केन्द्रका राष्ट्रिय सभा सांसद समेत रहेका विडारीले नेकपा विवादबारे फागुन २३ गतेको फैसला पुनरावलोकन हुने विश्वास व्यक्त गरेका हुन्।

नेकपा नाम विवादबारे सर्वोच्चले गरेको फैसला पुनरावलोकनमा जाने विषयमा माओवादी केन्द्रले मंगलबार सिंहदरबारमा कानुन व्यवसायीसँग छलफल गरेको थियो। छलफलका क्रममा सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको सन्दर्भमा पुनरावलोकनमा जान सकिन्छ कि सकिँदैन भन्ने विषयमा माओवादी नेताहरूले कानुन व्यवसायीसँग सल्लाह मागेका थिए।

कानुन व्यवसायीहरूले यसअघि डिआइजी रञ्जन कोइराला, प्रेरणा शाह र लोकमानसिंह कार्कीको फैसला करेक्सन भएकोले यत्रो राजनीतिक कुरा पुनरावलोकन नहुने कुरै नभएको बताएका थिए। छलफलमा कानुन व्यवसायीहरू शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत सहभागी थिए। उनीहरूले ६० दिनभित्र पुनरावलोकन गर्न सकिने भएकाले तत्काल पुनरावलोकन गर्न सुझाएका थिए।

‘रञ्जन कोइरालाको फैसला त करेक्सन गरे, लोकमान सिंह कार्कीको फैसला करेक्सन गरे, प्रेरणा शाह र प्रेरणाराज्य लक्ष्मीदेवी शाहको जग्गा मुद्दाको पुनरावलोकन भयो’, बिडारीले भने, ‘यत्रो राजनीतिक दल तोडफोड भएको र एकता भंग भएको कुरा, नेपालको राजनीतिमा उथलपुथल भएको कुरा र जति माग दाबी थियो त्यो भन्दा बढ्ता लेखेको कुरा र कतैबाट निर्देशित जस्तो भएकाले यसलाई पुनरावलोकन हामी सब एकमत छौं।’

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपा विरुद्ध ऋषि कट्टेलले आफ्नो नामसँग मिल्दो जुझ्दो नाम राखेको भन्दै रिट दिएका थिए। सोही रिटबारे सर्वोच्चले गरेको फैसलापछि नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका छन्।