लिखित रुपमै जवाफ पर्काउने नेपाल पक्षकाे निर्णय

लोकपाटी न्यूज

काठमाडाैँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षले निर्णय गरेको छ। ललितपुरमा सोमबार सम्पन्न माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्षमा सो समूह पुगेको हो।

‘महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको पत्र आज प्राप्त भएको छ, भोलिसम्म यसको लिखित जवाफ तयार हुन्छ,’ माधव-झलनाथ पक्षका एक नेताले रातोपाटीसँग भने। गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै ओली पक्षले माधव पक्षका नेताहरुलाई कारवाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोधिएको पत्र बुझाएको थियाे। महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टिकरणको पत्र पार्टी कार्यालय धुम्बाराहीका कर्मचारीले स्वकीय सचिवहरु मार्फत् वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरु – भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पत्र बुझाएका हुन्।

आफूलाई कारवाही गर्ने ओलीसँग नैतिक हैसित नभएको दाबी गरिरहेका नेपाल समूहका नेताहरु भने ओलीले कारवाहीको तयारी थालेपछि त्यसको काउन्टरमा के गर्ने भन्ने विषयलाई लिएर छलफलमा जुटेका थिए।