सानेपामा सुरु भयो कांग्रेस पदाधिकारी बैठक

Congress_CCM_
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघिबाट सुरु भएको हो।

बैठकमा पार्टी उपसभापति विजयकुमार गच्छदार पनि सहभागी भएका छन्। गच्छदार एक वर्षदेखि बालुवाटार जग्गा प्रकरणमा फरार सूचीमा छन्। संस्थापनइतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापालगायतका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न नेतृत्वलाई दबाब दिइरहेका बेला बैठक बस्न लागेको हो।

सभापति देउवाले भने यस विषयमा खासै चासो देखाएका छैनन्। माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्य गरेर नयाँ सरकार गठनका लागि पहल गर्न वरिष्ठ नेता पौडेलले दबाब दिइरहेका छन्। पौडेलले आइतबार आफू पक्षीय नेताहरूसँग छुट्टै राखेको बैठकमा पनि अन्य दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका थिए।

पौडेल पक्षले कांग्रेस अनिर्णीत बन्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको स्वेच्छाचारिता बढ्दै गएको बताएको छ। सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने पौडेल पक्षको धारणा छ। तर, देउवासहित संस्थापन पक्षका नेताहरू सरकार गठनका लागि परिपक्व स्थिति आइनसकेको बताइरहेका छन्।