काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बिच भेटवार्ता भएको छ। उनीहरूबिच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भेटवार्ता भएको हो।
विभिन्न जिल्लाको भ्रमण सकेर आइतबार काठमाडौं आइपुगेका विप्लवले सोमबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। सरकारसँग भएका सम्झौता कार्यान्वयनको सन्दर्भमा छलफल गर्न विप्लव ओलीलाई भेट्न गएको बताइएको छ। विप्लव नेतृत्वको नेकपा र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो।
विप्लव नेतृत्वको नेकपाका नेता उदयबहादुर चलाउनेका अनुसार भेटमा विप्लवले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका छन्। उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी विप्लवले सरकारको ध्यानाकर्षण गराएका छन्। जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरू लागिरहेको जवाफ दिएका नेता चलाउनेले जानकारी दिए।



लोकपाटी न्यूज

