काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमणमा ढाका पुगेकी छन्। उनलाई हजरत अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदले स्वागत गरेको नेपाली राजदूतावासले जनाएको छ।
राष्ट्रपतिद्वयबीच आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। वार्तापछि दुई देशका वाणिज्य र पर्यटन सचिवहरूबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने पनि तय भएको छ। समकक्षी हमिदले आजै राजकीय रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ। राष्ट्रपति बंगलादेशका राष्ट्रपिता शेख मुजिब्बर रहमानको १००औँ जन्मजयन्ती तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ। आजै बंगलादेशका प्रधानमन्त्री शेख हसिना, परराष्ट्रमन्त्री डा. एके अब्दुल मोमेनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
बंगलादेशका राष्ट्रपति हमिदले गत वर्ष कात्तिक २६ देखि २९ सम्म नेपालको भ्रमण गरेका थिए। यसअघि बंगलादेश र नेपालका प्रधानसेनापतिहरूले एक–अर्को मुलुकको औपचारिक भ्रमण पनि गरिसकेका छन्। राष्ट्रपति भण्डारीले ढाकामा नेपाल-बंगलादेश सम्बन्धबारे सम्बोधन गर्ने पनि कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र बंगलादेशका आपूर्ति सचिवहरूबीच रोहनपुर सिंघाबाद रेल्वे रुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ। नेपालबाट वाणिज्यसचिव दिनेश भट्टराईले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ।
कृषिसम्बन्धी स्यानिटरी तथा फाइटोस्यानिटरी सहयोगसम्बन्धी अर्को सम्झौता हुनेछ। यसमा पनि वाणिज्यसचिव भट्टराईले नेपालका तर्फबाट हस्ताक्षर गर्नेछन्। दुई देशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी एउटा तथा २०२२ देखि २०२५सम्म सांस्कृतिक आदानप्रदान गर्नेसम्बन्धी अर्को समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ। यी सम्झौतामा नेपालका तर्फबाट पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले हस्तार गर्ने कार्यक्रम छ।
बंगलादेशले राष्ट्रपिताको जन्मशताब्दी तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाँठका अवसरमा ४ चैतदेखि दशदिने कार्यक्रम आयोजना गरिरहेको छ। नेपालसहित सार्क सदस्य मुलुकहरू भारत, माल्दिभ्स, श्रीलंका र भुटानका शीर्ष नेतालाई बंगलादेशले निमन्त्रणा गरेको छ। राष्ट्रपति भण्डारी ढाकाबाट मंगलबार अपराह्न स्वदेश फिर्ता हुने कार्यक्रम छ।



लोकपाटी न्यूज

