स्पष्टीकरण पेस गर्न एमालेले काट्यो पत्र, पत्र बुझ्न क-कसले मानेनन् ?

Uml_Dal
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टिकरण मागेको छ। पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टिकरण पत्र बुझाएका हुन्। एमाले स्रोतका अनुसार बरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेज पौडेलले पत्र बुझेका छन्।

त्यस्तै सुरेन्द्र पाण्डेका स्वकीय सचिव सन्जिव पाण्डेलाई पत्र बुझाइएको छ। अर्का नेता भीम रावलले भने स्पष्टिकरणपत्र बुझ्न अश्वीकार गरेका छन्। गेटबाट भित्र छिर्न नदिएपछि कर्मचारीले टोखास्थित कोलोनीको सी १४ नम्बर खरको लेटर बक्समा पत्र छिराएर फर्किएका छन्।

घनश्याम भुसालको भने मोबाइल स्वीच अफ रहेकाले उनको पत्र बुझाउन बाँकी रहेको एमाले कार्यालय स्रोतले जनाएको छ। शनिवार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरु बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको ठहर गर्दै चार नेतासँग स्पष्टिकरण लिने निर्णय गरेको थियो।

स्पष्टिकरणपत्रमा ती अभियोगमाथि चित्त बुझ्दो स्पष्टिकरण तीन दिनभित्र पेश गर्न भनिएको छ। महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तीन दिनभित्र चित्त बुझ्ने जवाफ नआएमा कारवाही किन नगर्ने भन्ने व्यहोरा उल्लेख रहेको स्रोतले जनाएको छ।

शनिबार बसेको एमालेको संसदीय दल र केन्द्रीय समिति बैठकले नेता नेपालका प्रमुख सहयोगीको पहिचान गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। उक्त बैठक नेता नेपाल पक्षले बहिष्कार गरेको थियो। नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको विषयमा नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई मुख्य जिम्मेवार ठहर्‍याइएको छ।

त्यसकारण उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय ओली पक्षीय बैठकले गरेको थियो। उनीहरुमाथि गुटगत भेला गरेर पार्टीविरोधी गतिबिधि गरेको आरोप लगाइएको छ। भेला नगर्न निर्देशन हुँदाहुँदै नेकपा एमालेको ब्यानरमा भेला गर्नु अनुशासनको उल्लंघन भएकाले ठहर गरिएको छ। पार्टीको एउटा पक्षले बहिष्कार गरिरहँदा उनीहरूलाई सहभागी गराउनेतर्फ पार्टी निर्णय केन्द्रित छैनन्।

उनीहरूमध्ये नेताहरूलाई कारबाहीका नाममा सिध्याउने र अरूलाई कमजोर बनाएर घुँडा टेकाएर पार्टीमा फर्किन बाध्य पार्ने खेलमा ओली देखिन्छन्। आफ्ना विपक्षीलाई बेवास्ता गर्दै ओलीले संसदीय दलको विधानसमेत संशोधन गर्दै आफूलाई थप शक्तिशाली बनाएका छन्। कुनै पनि सदस्यले पार्टी र संसदीयको हित विपरीत गतिविधि गरेको भन्ने लागेमा दलका नेतालाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार अध्यक्षमा रहने प्रावधान राखिएको छ।

संघ र प्रदेशका समानुपातिक सांसद हटाउन सक्ने अधिकार अध्यक्ष एवं दलका नेतालाई दिइएको छ। एमालेमा ओली पक्षका सदस्यहरूको उपस्थितिमा गरिएका यी निर्णयले अब माधव नेपाल पक्ष पार्टीबाट बाहिरियोस् भन्ने मनसाय राखेको प्रष्टै देखिन्छ। यता अध्यक्ष ओलीसँग नझुक्ने अभिव्यक्ति र एमाले छोड्न नसक्ने मनस्थितिको विरोधाभासमा नेपालले अब के गर्लान्? उनले के गर्ने भन्ने तय गरिसकेका छैनन्।

यद्यपि संस्थापन पक्षले स्पष्टीकरण मागेर कारवाही प्रक्रिया अघि बढाउने देखिएपछि नेकपा एमालेको नेपाल पक्ष अबको रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ। त्यसबारे छलफल गर्न आज नेपाल पक्षका स्थायी समिति सदस्यको अनौपचारिक बैठक बस्ने भएको हो।

बैठक बानेश्वरमा बस्ने बताइएको छ। एक नेताका अनुसार बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ। सम्भवत आजको बैठकले नेपाल पक्षको औपचारिक धारणा आउने बताइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला निर्णय हिजो माओवादीका साथ लागेर हिँडेका नेतालाई सिध्याउने अभियानमा केन्द्रित छन्।

ओलीले सोधेको स्पष्टीकरणकै सन्दर्भमा पनि नेपाल पक्षीय नेताहरूका बीचमा घनिभूत छलफल भइसकेको छैन। सोमबार उनीहरूले स्पष्टीकरणबारे सामूहिक धारणा पनि बनाउने तयारी गरिरका छन्।