कांग्रेस पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक सोमबार बस्दैछ। सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका हुन्।

बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने कार्यक्रम रहेको एक नेताले बताए। सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा पार्टीबाटऔपचारिक प्रस्ताव गरिने विषयमा समेत बैठकमा छलफल हुनेछ। यसअघि देउवालाई प्रधानमन्त्री बनाउन पार्टीमा आन्तरिक सहमति बनेपनि औपचारिक निर्णय गरिएको थिएन।

यसअघि आइतबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेपछि पदाधिकारी बैठक बस्न लागेको हो। पौडेलले आइतबार आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए। नयाँ समीकरण बनाएर सत्ता सहकार्य गर्ने विषयमा कांग्रेस दुई समूहमा विभाजन भएको छ। माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्य गरेर नयाँ सरकार गठनका लागि पहल गर्न वरिष्ठ नेता पौडेलले दबाब दिइरहेका छन्।

पौडेल पक्षले कांग्रेस अनिर्णीत बन्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको स्वेच्छाचारिता बढ्दै गएको बताएको छ। सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने पौडेल पक्षको धारणा छ। तर, देउवासहित संस्थापन पक्षका नेताहरू सरकार गठनका लागि परिपक्व स्थिति आइनसकेको बताइरहेका छ। जसपाभित्र विवाद बढेकाले पहिले उसको निर्णय पर्खिनुपर्ने देउवाको मत छ।