बंगलादेशमा माेदी विराेधी र्‍याली

लोकपाटी न्यूज

काठमाडौं। बंगलादेशको ५० औं स्वतन्त्रता दिवसको अवसर पारेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मार्च २६ तारेखमा बंगलादेश भ्रमणमा जाँदैछन्। तर भ्रमणको केही दिनअघि बंगलादेशमा मोदीको विरुद्धमा र्‍याली निस्किएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार शुक्रबार करिब पाँच सय मुस्लिमहरुले भारतीय प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजी गर्दै र्‍याली निकालेका थिए। निकै कडा सुरक्षाबीच राजधानी सहर ढाकाको बैतुल मोकाराम मस्जिदबाट उनीहरुले र्‍याली निकालेका थिए। उनीहरुले हातमा जुत्ता लिएर मोदीको बंगलादेश भ्रमणको विरोध गरेका थिए।

त्यस्तै शुक्रबार वामपन्थी झुकाव राख्ने करिब दुई सय विद्यार्थीले पनि युनिभर्सिटी क्याम्पसको सडकमा मोदीविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले मोदीलाई ‘गुजरातको कसाई’ भन्दै नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरुले भारतीय प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको भन्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पनि आलोचना गरेका थिए।

सन् १९७१ को मार्च २६ मा बंगलादेश स्वतन्त्र भएको थियो। त्यसपछि नौ महिनासम्म चलेको रक्तपातपूर्ण युद्धपछि बंगलादेश नयाँ मुलुक बनेको थियो। त्यतिबेला पाकिस्तानबाट छुट्टिन भारतले पनि बंगलादेशलाई सहयोग गरेको थियो।

बंगलादेशमा भारतविरोधी भावना बढ्नुको एउटा कारण भारतीय प्रधानमन्त्री मोदी आफैं हुन्। सन् २००२ मा मोदी गुजरातको मुख्यमन्त्री हुँदा गुजरातमा हिन्दु-मुस्लिम दंगा फैलिएको थियो। उक्त दंगामा एक हजारभन्दा धेरैको मृत्यु भएको थियो।

उक्त हिंसा फैलाउन सरकारले अनुमति दिने मात्र नभई उक्साएकोसम्म आरोप लागेको थियो। भारतको सर्वोच्च अदालतले पछि मोदीमाथि कारबाही गर्न प्रमाण नभएको बताएको थियो। भारतमा दुई वर्षअघि नागरिक कानुनमा गरिएको संशोधन पनि बंगलादेशमा भारतविरोधी भावना विकास हुनुको अर्को कारण हो।

यो संशोधनमा छिमेकी मुलुकबाट अवैध रुपमा आएर लामो समय भारतमा बसेका गैर-मुस्लिम समुदायलाई नागरिकता दिने व्यवस्था गरिएको छ। यो कानुनले मुस्लिम नागरिकलाई विभेद गरेको मुस्लिम बाहुल्य मुलुक बंगलादेशले बताएको छ । यद्यपि भारतले भने यो कानुन मुलुकको राष्ट्रिय सुरक्षाको लागि आवश्यक रहेको बताउँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्