काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही चुनौती भए पनि त्यसले बिस्तारै लय समात्ने बताएका छन्। शनिवार जी.पी.कोइराला मेमोरियल कलेजको आठौँ वार्षिकोत्सव समारोहमा सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा समस्या भएकाले सञ्चालनका लागि मेहनत आवश्यक भएको बताए।
चुनौतीहरुको सामना गर्न प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपाय खोजिरहेको उनको भनाई थियो। ‘अलिकति समस्याहरु छन्। त्यसलाई लयमा फर्काउनका लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ। तर, हिजोबाट तपाईँहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ,’ सापकोटाले भने।
उनले संसद सञ्चालनमा ब्यवधान उत्पन्न नहुनेमा विश्वस्त हुन आग्रह गरे। अहिलेको राजनीतिक समस्या छलफल बहस भएर समाधान हुने सापकोटाले बताए। उनले संसद् छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने बताए। संसद्लाई जीवन्त र जनमुखी बनाउन आफूहरूले प्रण गरेको उनले बताए।
‘बिस्तारै समय लाग्छ तर म विश्वास दिलाउन चाहन्छु कि त्यसले फेरि गति लिनेछ। जीवन्त र जनमुखी हुनेछ। संसद् भनेको छलफल, बहस, वादविवाद, संवाद हुँदै अगाडी जाने कुरा हो। वादविवाद छ अब संवाद हुँदै अगाडि बढ्छ,’ सापकोटाले भने। विचारमा समस्या देखिएका कारण अहिले देशमा संकट देखिएको उनको भनाई छ।
उनले भने, ‘दक्षिणपन्थी हावा ज्वारभाटा जस्तो गरी आएको छ। तर अन्तिममा यो धर्तीलाई निकास दिने भनेको विचारले हो। विचार भन्दा महान् कुरा केही पनि छैन। कैयौँ मान्छे उतार चढावमा परिराख्नु भएको छ। यो विचारको कमीले हो।’



लोकपाटी न्यूज

