हामीले होइन, केपी ओलीले स्पष्टीकरण दिनुपर्छ: भीम रावल

Bhim_Rawal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्। नेता रावलले आफूसहितका नेतालाई कारबाहीका लागि स्पष्टिकरण सोध्ने निर्णय अवैध र हास्यास्पद रहेको पनि टिप्पणी गरे।

ओली पक्षको बैठकले शनिबार रावलसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टी हितविरुद्ध सक्रिय भएको भन्दै नेता माधव नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। नेता रावलले यो निर्णय ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको द्योतक रहेको दाबी गरे।

‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ। यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो,’ समाजिक सञ्जालमा रावलले लेखेका छन्। उनले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध र हाँस्यास्पद भएको उल्लेख गरेका छन्। ‘त्यस्तो निर्णयलाई म पूर्णत: अस्वीकार गर्दछु,’ उनले भनेका छन्।

उनले बरू प्रधानमन्त्रीसमेत रहेका अध्यक्षले स्पष्टीकरण दिनुपर्ने बताएका छन्। ‘विधान उलंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्छ,’ उनले भनेका छन्।