काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्। आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले न्युनतम नैतिकतासमेत नदेखाएको उनको भनाई छ। माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मुल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए।
उनले भने, ‘सरकारले राजनीतिमा देखाउनुपर्ने, दर्शाउन सक्नुपर्ने कुरा प्रधानमन्त्रीले राजीनामा दिएर गर्नुपर्नेमा नगरेको र माओवादी केन्द्रले समर्थन अहिलेसम्म फिर्ता लिन नसकेको। जनता समाजवादी पार्टीले पनि पार्टीबाट अनैतिक सरकारको राजीनामा गराउनको लागि, प्रमुख प्रतिपक्षी दल कांग्रेस हामी त तयार छौँ। तर संख्या नपुग्दैमा खाली सरकारको परिवर्तनको कुरा गरेर मात्रै हुँदैन। हामी के चाहान्छौँ त भन्दाखेरी न्युनतम रुपमा राजनीतिमा हुनुपर्ने मुल्य, मान्यता, नैतिकता भन्नेकुरा लागु हुनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ।’
नेता सिंहले कम्युनिष्ट पार्टीले जनताले पाँच वर्षका लगि दिएको म्याण्डेड पुरा गर्न नसकेको बताए। देशलाई अस्थिरता बाट बचाउन सबै दलहरुले निकास दिनुपर्ने बताए। सिंहले भने, ‘कम्युनिष्टहरुको सरकारले ५ वर्षसम्म दिएको म्याण्डेड पुरा गर्न सकेको छैन। र अब बाँकी रहेको समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरु लागेर अगाडि बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको भनाई छ।’



लोकपाटी न्यूज
