काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमणमा जान लागेकी छन्। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिने भ्रमणमा जान लागेकी हुन्।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही सरकारी अधिकारी पनि सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बंगलादेशका संस्थापक पूर्वराष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानको सयौं जन्मजयन्तीका अवसरमा हुने कार्यक्रममा राष्ट्रपति भण्डारी सरिक हुनेछन्।
भ्रमणको अवसरमा राष्ट्रपतिले ‘नेपाल र बंगलादेशको सम्बन्ध र बंगलबन्धुको जन्म शताब्दी’ को बारेमा सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग बंगला भवनमा भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै आफ्ना समकक्षीले आयोजना गर्ने स्टेट ब्याक्वेटमा सहभागी हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैगरी भ्रमणका अवसरमा सावरस्थित राष्ट्रिय शहीद स्मारक र धनमण्डीमा रहेको बंगलबन्धुको स्मृति सङ्ग्रहालयको अवलोकन गर्ने छन्। नेपाली प्रतिनिधिमण्डलमा सहभागी सांस्कृतिक टोलीले ढाकामा प्रस्तुत गर्ने शताब्दी समारोह कार्यक्रमको अवलोकन पनि गर्ने छन्। राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासमा आयोजना हुने दिवा भोजमा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारी यही चैत १० गते स्वदेश फर्कने छन्।



लोकपाटी न्यूज

