काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई हिटलरसँग तुलना गरेका छन्। आइतबार बिहानै ट्वीट्मार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले नेपाली हिटलरको उदय भइरहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीतिर इंगित गर्दै उनले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्का चलाउन थालेको आरोप लगाएका छन्। भट्टराईले यस्तो अवस्थामा सबै सजग हुनुपर्ने सुझावसमेत दिएका छन्। नेकपा एमालेको शनिवारको बैठकमार्फत अध्यक्ष ओलीले समानुपातिक सांसद हटाउने निर्णय आफूमा निहित रहने गरी थप शक्ति आर्जित गरेका थिए।
‘हिट्लरबारे चर्चित भनाइ छ -पहिले उनीहरू यहुदीविरुद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ। अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही पनि बाँकी थिएन! नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ! होसियार!,’ भट्टराईले लेखेका छन्।
पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका पाँच नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णयपछि बाबुरामको यो प्रतिक्रिया आएको हो। शनिवार बसेको ओली खेमाको केन्द्रीय कमिटीको बैठकले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ५ नेतालाई कारबाही गर्ने निर्णय गरेको थियो। विधान संशोधन भएपछि प्रधानमन्त्री ओली थप शक्तिशाली भएका छन्। सोही विषयप्रति टिप्पणी गर्दै डा.भट्टराईले ओली प्रवृत्तिविरुद्ध बोल्न डराउन नहुने बताएका हुन्।



लोकपाटी न्यूज

