प्रधानमन्त्री पदतिर होइन, निर्वाचनको तयारीतिर ध्यान दिनुस् : देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

चितवन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन्। रत्ननगरमा शनिबार आयोजित युवा तरुण जागरण भेलामा देउवाले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको उल्लेख गरे।

‘प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ। टाउकामा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन,’ देउवाको भनाई थियो। सभापति देउवाले अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको जनाउँदै माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताए। उनले बहुमतको ओली सरकार रहुन्जेलसम्म कांग्रेस सरकारमा जाने कुरा गर्नु व्यर्थ भएको बताए।

‘ओली सरकार अहिले पनि बहुमतमै छ। माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता भएको छैन। यस्तो अवस्थामा कांग्रेस कुन तरिकाले सरकारमा जाने ? जनताले तेस्रो बनाएका हुन्, सरकारमा गएन किन भन्ने ?,’ देउवाले अगाडि थपे, ‘मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन्। त्यो हेर्नुपर्छ।’

सभापति देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए। आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे। सभापति देउवाले स्थानीय तहदेखि संघीय तहसम्म निर्वाचन हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने बताउँदै जनताको घर दैलोमा गएर निर्वाचनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘जनता मालिक हुन्। नोकर होइनन्। भाषण गरेर मत दिँदैनन्। जनताको सुख दुःखमा साथ दिनुस्। निर्वाचन जितिन्छ।’

कांग्रेस भित्रको आन्तरिक विवाद टुङ्गाएर अघि बढ्ने समय आएको उनको भनाइ छ। कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस शर्तसहित सरकारमा नजाने बताए। ‘कांग्रेस सरकारमा जान्छ तर हात खुट्टा बाँधेर सरकारमा जाँदैन,’ महतले भने। कांग्रेसका केन्द्रीय सदस्य एनपी साउत, शंकर भण्डारी र देवेन्द्र कँडेलले कांग्रेसलाई जनताले दिएको जिम्मेवारी पूरा गर्दैअघि बढ्नुपर्ने बताए।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला सङ्घका केन्द्रीय सदस्य उमा रेग्मी, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महर, तरुणदल वाग्मती प्रदेशका अध्यक्ष पद्मनारायण तिमिल्सिना, तरुण युवा परिचालन समितिका हेमन्त पाख्रिनलगायत मुलुकको विद्यमान राजनीति र कांग्रेसको दायित्वका विषयमा धारणा राखे। उक्त अवसरमा शहीद परिवारलाई सम्मान गरिएको थियो। रासस