काठमाडाैँ। सत्तारुढ नेकपा एमालेले १०औँ महाधिवेशनका लागि आयोजक कमिटी गठन गर्ने निर्णय लिएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको हो।
बैठकले हाल कायम २ सय ६४ सदस्यीय केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा परिणत गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। एमालेको १०औँ महाधिवेशन २०७८ को मंसिर ३ देखि ७ गतेसम्म हुने यसअघि नै निर्णय भइसकेको छ।
विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीका अनुसार महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष स्वतः अध्यक्ष केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल रहेका छन्। अन्य पदाधिकारी आवश्यकता अनुसार अर्को बैठकले चयन गर्ने उनले बताए। यस्तै आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको एक समिति बनाइएको छ।
बैठकले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै नेता माधव कुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उनीहरुले दिने स्पष्टीकरणको आधारमा बैठकले आवश्यक निर्णय लिने ज्ञवालीले बताए।



लोकपाटी न्यूज

