काठमाडौं। कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतमा जेल परेका नेपाली नागरिक दीपक जैसी तिम्सिना अदालतको आदेशपछि कारागरमुक्त भएका छन्।
तर उनको मुद्दा टुङ्गिन बाँकी नै छ। उनलाई लिन नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता गएका थिए। कोलकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा उनलाई कारागारमुक्त गरिएको हो। चालीस वर्षभन्दा बढी समय जेलमा बसेर बाहिर आउँदा केही बोल्न सकेनन्।
कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार बिहान दमदम सेन्ट्रल जेलले दीपकलाई कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको हो। अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ (काकाका छोरा) प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका छन्। ४० वर्षपछि जेलबाहिर निस्कँदा दीपकले नयाँ लुगा लगाएका थिए। उनलाई ह्याम रेडियोको क्लबका प्रतिनिधिले बंगाली परम्परागत पहिरन कुर्ता पाइजामा किनेर दिएका छन्।
२०३७ सालमा दीपकले इलाम छोड्दा प्रकाशचन्द्र ७ कक्षामा पढ्थे। अहिले उनी चुलाचुलीको एक विद्यालयमा पढाउँछन्। यसअघि प्रकाशचन्द्र दीपकलाई भेट्न दमदम सेन्ट्रल जेलभित्र पनि गएका थिए। जेलबाट छुटेपछि उनलाई पश्चिम बंगाल रेडियो क्लबका प्रतिनिधि र वकिलहरूले माला लगाइदिए र मिठाइ खुवाए। रिहापश्चात उनका भाइ प्रकाशचन्द्रले आफ्नो दाइले जस्तो भोगे पनि अरू कसैले अब त्यस्तो अवस्था भोग्न नपरोस् भन्ने कामना गरे। उनले भने,‘मेरो दाइलाई जस्तो संसारमा अरू कसैलाई नहोस्।’ दीपकलाई लिएर प्रकाशचन्द्र आजै नेपाल फर्किनेछन्।



लोकपाटी न्यूज
