काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले खनाल-नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई कम्युनिस्ट आन्दोलनको कलंकको सँज्ञा दिएका छन्। शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको संसदीय दलको बैठकमा ओलीले राष्ट्रिय भेलाका आयोजकलाई स्पष्टिकरण सोधिने बताए।
आत्मआलोचना नगरे कारबाही गरिने उनको भनाइ थियो। उनले आफूलाई अध्यक्षबाट मात्र नभइ पार्टी सदस्यबाटै हटाइएको प्रसंग उठाउँदै धन्न नागरिकता खोसेनन् भनेर टिप्पणी गरेका थिए। उनले आफ्नो राजीनामा माग्नेलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौति दिए। यद्यपी सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने सम्भावना नरहेको उनको भनाइ थियो।
ओलीले नेता माधव नेपालले आफूलाई दानवका रुपमा चित्रित गर्न खोजेको पनि आरोप लगाएका थिए। उनले बैठकमा सहभागी बामदेव गौतमलाई एकता कसले नचाहेको रहेछ देख्नुभयो भनेर प्रश्न गरेका थिए। ‘तपाईं एकता एकता भन्नुहुन्थ्यो। एकता कसले नचाहेको रहेछ त देख्नुभयो होला नि !,’ ओलीले खनाल-नेपाल समूहलाई लक्षित गर्दै गौतमलाई सोधेको एक सांसदले बताए।
उनले समानान्तर अभ्यास गर्न खोजेर नेता नेपालले पार्टी एकताविरोधी कार्य गरेको पनि आरोप लगाए। एमाले विवादमा तटस्थ रहँदै आएका नेता बामदेव गौतम पनि आजको संसदीय दलको बैठकमा सहभागी भएका थिए। यसअघि गौतमले पार्टीभित्रको विवाद मिलाउनका लागि भन्दै छुट्टै अभियान सञ्चालन गर्दै आएका थिए। उनले शुक्रबार सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए।
यता खनाल-नेपाल समूहले भने बैठक बहिस्कार गरेको छ। खनाल-नेपाल समूहको स्थायी समिति बैठकले बालुवाटारमा हुने संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो। सो पक्षले सिंहदरबारस्थित संसदीय दलको कार्यालय या संसद भवनमा दलको बैठक राखिएमा भने विचार गर्न सकिने जनाएको थियो। संसदीय दलको बैठकले प्रस्तावित संशोधित विधान अनुमोदनका लागि केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ।



लोकपाटी न्यूज

