काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बैठक बालुवाटारमा सुरु भएको हो। एमाले संसदीय दलको आजको बैठकमा बामदेव गौतम पनि सहभागी भएका छन्। यसअघि गत बिहीबार बसेको बैठमा उनी सहभागी भएका थिएनन्।
गौतम संसदीय दलको बैठकमा सहभागी भएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बिहीबार बसेको संसदीय दलको बैठकले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाईसमेत समेटेर संसदीय बोर्ड गठन गरेको थियो। तर, उनीहरु आजको बैठकमा भने सहभागी भएका छैनन्।
खनाल-नेपाल पक्षको स्थायी समिति बैठकले बालुवाटारमा हुने संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो। सो समूहले सिंहदरबारस्थित संसदीय दलको कार्यालय या संसद भवनमा दलको बैठक राखिएमा भने विचार गर्न सकिने जनाएको छ। खनाल-नेपाल पक्षले प्रधानमन्त्रीको निवासमा बैठक राखेर संसदीय दललाई निजीकरण गर्न खोजीएको पनि आरोप लगाएको छ।
यसअघि प्रधानमन्त्री ओलीले बोलाएको एमाले संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरुको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको थियो। संसदीय दलको निर्देशन नमाने कारबाही गर्ने निर्णय पनि बैठकले गरेको थियो। बैठकले आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन पनि सांसदहरुलाई आव्हान गरेको थियो। दलको निर्देशन नमाने विधानअनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय पनि संसदीय दलको बैठकले गरेको थियो।
यसैबीच, संसदीय दलको बैठकलगत्तै आज केन्द्रीय कमिटी बैठक पनि बस्दैछ। आजको बैठकका लागि झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका सबै सांसद तथा केन्द्रीय समिति सदस्यहरुलाई आमन्त्रण गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा संसदीय दलको संशोधित विधानको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनेछ। भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले संशोधित विधानको प्रस्ताव तयार गरेको छ।
एमालेका कार्यालय सचिव ईश्वरी रिजालले केन्द्रीय समिति बैठकले महाविधेशन आयोजक समिति बनाउने जानकारी दिए। तर, यता नेकपा एमालेको नेपाल-खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ। सो समूहका स्थायी समिति सदस्यहरूको शुक्रबार बानेश्वरमा भएको बैठकले उक्त निर्णय गरेको थियो।



लोकपाटी न्यूज

