नेकपा एमालेका नेता वामदेव गौतम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। नेकपा एमाले संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठकअघि गौतम वालुवाटार पुगेका हुन्।
राष्ट्रियसभा सदस्यसमेत रहेका गौतम शनिवार बालुवाटार पुगेका हुन्। पार्टी बैठकमा सहभागी हुन गौतम बालुवाटार पुगेका हुन्। यसअघि गत ५ गतेको संसदीय दलको बैठकमा भने उनी उपस्थित भएका थिएनन् ।
गौतम उपस्थित नभए पनि पत्नी तुलसा थापा बिहीबारको बैठकका सहभागी भएकी थिइन्। एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दैछ।
प्रधानमन्त्री एवं दलका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने बताएको छ। नेपाल पक्षले बैठक बालुवाटारमा नभई सिंहदरबारस्थित संसदीय दलको कार्यालय वा संसद भवन बानेश्वरको कुनै हलमा राख्नुपर्ने शर्त राखेको थियो।
यसअघि गौतमले नेकपा एकता राष्ट्रिय अभियानका नाममा अलग गतिविधि गर्दै आएका थिए। तर, सर्वोच्चको फैसलापछि एमाले र माओवादी अलग अलग भएपछि गौतम पहिलोपल्ट पार्टी बैठकमा सहभागी भएका हुन्।
गत फागुन २८ गते ओलीले आफूनिकट नेताहरुलाई बोलाएर अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरिदिएका थिए। पदाधिकारी खारेजको विरोध गरेका गौतम शनिबारको बैठकमा सहभागी भएर आफ्नो मत राख्ने स्रोतले बतायो।



लोकपाटी न्यूज

