काठमाडौं, ७ चैत। आज बस्ने नेकपा (एमाले) को संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठक बालुवाटारमा नराखेर आफुहरुले भनेको ठाउँमा राखे बैठकमा सहभागी हुने खनाल–नेपाल पक्षले शर्त अगाडि सारेको छ।
स्थायी कमिटीको बैठक संसदीय दलको बैठक सिंहदरवारस्थित दलको कार्यालय र केन्द्रीय कमिटी बैठक धुम्बाराहीस्थित पार्टी मुख्यालयमा राखेमात्र बैठकमा सहभागी हुने खनाल–नेपाल पक्षले जनाएको छ।
खनाल–नेपाल पक्षले पार्टी कसैको निजी नभएकाले ओलीले बोलाएकै ठाउँमा आफुहरु जान तयार धारणा बाहिर ल्याएको छ। एमालेको संसदीय दलको बैठक अहिले विहान १०ः३० बजे र केन्द्रीय कमिटी बैठक मध्यान्ह १२ बजेका लागि बालुवाटारमा बोलाइएको छ।
खनाल–नेपाल समूहले फागुन २८ गतेको निर्णय खारेज गर्न पनि ओली समूहसँग माग गरेको छ। फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकीकरणलाई खारेज गर्दै एमाले र माओवादी ब्यूँताएपछि ओलीले एमालेमा एकलौटी निर्णय गरेका थिए।
एमालेको पदाधिकारी र स्थायी समितिमा खनाल–नेपाल पक्षमा बहुमत रहेकोमा फागुन २८ गते ओलीले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाएर अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरिदिएका थिए।
ओलीले सबै ठाउँमा पेलेर एकलौटी निर्णय गर्न थालेपछि खनाल–नेपाल पक्षले चैत्र ४ र ५ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको थियो। भेलाले देशैभरि समानान्तर पार्टी कमिटी सञ्चालन गर्ने निर्णय गरिसकेको छ।



लोकपाटी न्यूज

